दिउँसोको करीब दुई बज्दै थियो । दार्चुलाको खलङ्गा बजारमा पारिलो घाम लागिरहेको थियो । खलङ्गा बजार घुम्दै जाँदा म तिंकर खेडा पुगें । तिंकर खेडा अर्थात् तिंकर क्षेत्रका व्यासी सौकाहरूको टोल । घुम्दै जाने क्रममा एउटा कपडा पसलको छेउ एकजना बूढा बा घाम तापिरहेका भेटिए । मैले उनीसँग गफिन चाहें र उनको छेउमा पुग्दै अभिवादन टक्राएँ । बूढा बा एकछिन अक्मकिए । मैले आफ्नो परिचय दिएपछि मात्रै उनी सहजरूपमा कुराकानी गर्न तयार भए । उमेर ९१ वर्ष । व्यास गाउँपालिकाको तिंकरका स्थायी बासिन्दा तर, विगत दुई दशक यता दार्चुला खंलगामा बसिरहेका शौभन सिंह तिंकरी । ‘बुढेसकाल लाग्यो, अब तिंकर जान नसक्ने भएँ, त्यसैले खलङ्गामै बसिरहेको छु’, उनले भने । एकजना पाका मान्छे भेटिएकोले म उनको जीवन भोगाइ र अनुभवहरु सुन्न आतुर थिएँ । शौभन सिंह तिंकरी (९१ वर्ष) मानवशास्त्री रोबर्ट देस्जारलेसको पहिलो चोटि ‘कुराग्राफी’ भनेर ह्योल्मो जातिको बारेमा ‘सेन्सरी बायोग्राफिज: लाईफ एण्ड डेथ अमोङ नेपालस् ह्योल्मो बुद्धिस्ट ‘ भन्ने किताब सम्झिएँ । त्यहाँ दुईजना ह्योल्मोहरू म्हेमे लामा उर्फ घाङ लामा (८५ वर्ष) र किसाङ ओमु (८१ वर्ष) सँगको क...