सेताम्मे रिमेलुङ्तो हिमालको फेदबाट बग्ने निर्मल र कन्चन रिन्मे खोला। त्यसको वारिपट्टी ३५–४० वटा घर भएको बस्ती रिगयुल गाउँ बाहिरी दुनियाँबाट धेरै टाढा छ। गाउँको पूर्वपट्टीको दायाँ लाइनमा, रंगीबिरंगी लुँदार फरफराइरहेको पेम्बाको घर छ। पेम्बाको आगँनमा गाउँलेहरू सबै जम्मा हुँदैछन्। कोही आइसकेको छन् भने कोही आउँदै थिए। केही बेरपछि गाउँको मुखिया पनि आइपुग्छन्। पेम्बा र डोल्मा शिर झुकाउँदै अभिवादन गर्छन्। डोल्मा हतारहतार आगँनमा फेरुवा र त्यसमाथि गलैंचा ओछ्याउँछिन् र पेम्बा मुखियालाई बस्नको निम्ति आग्रह गर्छ। मुखिया गलैंचामाथि बस्छन् र सोध्छन्- त्यो मिङमार र टासी अझैसम्म आएनन्? पेम्बा : छैन हजुर आउँदै होला। पेम्बा : ल सबै जना बसौं बसौं। सबै जना लाइनवद्ध भएर बस्छन्। सबै भन्दामाथि मुखिया अनि त्यसको तल एकजना लामा र अन्य गाउँलेहरू लस्करै बस्छन्। त्यतिकैमा डोल्मा, लामु, छिरिङ एउटा ठेकीमा छ्याङ र कित्लीमा चिया लिएर आउँछन्। सबैलाइ लस्करै रुपमा सेरामिकको कपमा चिया र छ्याङ दिन्छिन्। केही बेरपछि टासी र मिङ्मार पनि आउँछन्। मुखिया : तिमिहरु आज अलि ढिलो गर्यो त? टासी : त्यही त हेर्नु न मु...