जेठको दोस्रो साता शुरू हुनासाथ डोल्पाका गाउँ बस्तीमा एक किसिमको रौनक छाउँछ। सबैलाई एउटा नयाँ आशा पलाउँछ। स्कुल बन्द हुन्छन् र सबैलाई एक किसिमको नयाँ उमङ्ग लिएर आउँछ। वर्षभरी चाहिने आर्थिक जोहो गर्न बालबच्चा, युवायुवती, वयस्क महिलापुरूष सबैमा आशाको सञ्चार प्रवाहित हुन्छ। त्यो हो- यार्चागुम्बु। कुरा २०६१ साल तिरको हो। स्नातक दोस्रो वर्षको परीक्षा दिएर यार्चा टिप्न डोल्पा लागेँ। जेठको महिना थियो । म ५ गते घर पुगेँ । ८ गते बन फुकुवा गर्ने भएकोले ७ गते नै खर्क पुग्नुपर्ने थियो। खर्क जाने गाउँलेको योजना अनुरूप म पनि ७ गते गाउँलेसँग जानको आफ्नो झोला र दुई हप्तालाई पुग्ने रासनको पोको तयार पारेँ। गाउँदेखि खर्कको बाटो ४ घन्टाको छ, एक घण्टा तेर्सो र ३ घन्टा उकालो। ७ गते दिउँसो करिब २ बजेतिर म खर्क जान तयार भएँ। समानहरू साथीको घोडा र खच्चडमा पठाएको थिएँ। करिब दिउँसो १ बजेदेखि नै सारा गाउँले झिटीघुम्टा बोकेर आफूले पालेका सारा वस्तुभाउ गाई, गोरू, भेडा बाख्रा, घोडा, खच्चरको लावालस्कर लगाएर सुसेलीले गाउँनै थर्किने गरेर यार्चाखर्क तिर लाग्दै थियो। त्यही भिडमा म पनि मिसिने भएँ। आमा बिदा...