Skip to main content

यार्चा डायरी-१



जेठको दोस्रो साता शुरू हुनासाथ डोल्पाका गाउँ बस्तीमा एक किसिमको रौनक छाउँछ। सबैलाई एउटा नयाँ आशा पलाउँछ। स्कुल बन्द हुन्छन् र सबैलाई एक किसिमको नयाँ उमङ्ग लिएर आउँछ। वर्षभरी चाहिने आर्थिक जोहो गर्न बालबच्चा, युवायुवती, वयस्क महिलापुरूष सबैमा आशाको सञ्चार प्रवाहित हुन्छ। त्यो हो- यार्चागुम्बु।  

कुरा २०६१ साल तिरको हो। स्नातक दोस्रो वर्षको परीक्षा दिएर यार्चा टिप्न डोल्पा लागेँ। जेठको महिना थियो । म ५ गते घर पुगेँ । ८ गते बन फुकुवा गर्ने भएकोले ७ गते नै खर्क पुग्नुपर्ने थियो। खर्क जाने गाउँलेको योजना अनुरूप म पनि ७ गते गाउँलेसँग जानको आफ्नो झोला र दुई हप्तालाई पुग्ने रासनको पोको तयार पारेँ। 

गाउँदेखि खर्कको बाटो ४ घन्टाको छ, एक घण्टा तेर्सो र ३ घन्टा उकालो। ७ गते दिउँसो करिब २ बजेतिर म खर्क जान तयार भएँ। समानहरू साथीको घोडा र खच्चडमा पठाएको थिएँ।

करिब दिउँसो १ बजेदेखि नै सारा गाउँले झिटीघुम्टा बोकेर आफूले पालेका सारा वस्तुभाउ गाई, गोरू, भेडा बाख्रा, घोडा, खच्चरको लावालस्कर लगाएर सुसेलीले गाउँनै थर्किने गरेर यार्चाखर्क तिर लाग्दै थियो। त्यही भिडमा म पनि मिसिने भएँ।

आमा बिदाई गर्नलाई भोजपत्रमा घिउँको सानो डल्ला अनि कचौरामा चिनो चामल लिएर बस्नुभएको थियो। मैले झोला बोकेँ र आमा माथि थारामा गएर लिङ्गोलाई यार (घिउको टिका) लगाएर तल झर्नु भयो र मलाई यार (घिउको टिका) मेरो दाइने कन्चटमा लगाउनुभयो र चिनो चामलको गेडाहरु तीन पटक मेरो टाउकोमा राख्दै,

सोसो थाआपा या यी फोला सो (दाहिनामा पितृदेवको जय)

थाअपा योन यी म्होला सो (बाहिनामा पितृदेवीको जय)

चुरचुउ सुमयी टाप्ला सोसो (शिरमा रहित त्रिदेवको जय जय)

भनेर सगुन गर्नु भयो।

साथीहरू कुरेर बसेका थिए। त्यसपछि हामी बाटो लाग्यौं।

हाम्रो यात्रा बिस्तारै अघि बढ्यो, हामी घनाजंगल छिचोल्दै फिल्मी बातहरू गर्दै लम्किरहेका थियौं। त्यसैमा चराचुरुङ्गीका गुन्जनले यात्रा झनै रोमान्चित बनाइरहेको थियो।

शरीर पसिनाले निथ्रुरुक्क भिजेर निधारबाट पसिनाका दानाहरु टप्पटप्प भुइमा चुहिँए पनि शितल र मन्द चिसो हावाले छुट्टै आनन्द दिइरहेको थियो। बाटो बिस्तारै अब तेर्सोबाट उकालोतिर बढ्यो। जिउ थकान र अनि मुटुको धड्कन बढ्दै थियो। आकाशमा कालो बादल मडारिरहेको थियो। 

थकान र हिँडन गाह्रो भएपछि भने मैले साथीहरूलाई अगाडि बढ्न आग्रह गरेँ। ‘म बिस्तारै आउँछु तिमीहरू जाँदै गर’ भने । साथीहरूले शुरूमा छोडेर जान इन्कार गरे, पछि मैले तिमिहरू गएर टेन्ट गाड्दै गर्नू भनेपछि अगाडि बढे। म बिस्तारै आफ्नै गतिमा अघि बढे ।

साँझको ६ बज्न लागेको थियो । मनमनै लाग्यो यो यार्चागुन्बु पनि कस्तो यस्तो अनकन्टार ठाउँमा भएको होला । टिप्न जान यती गाह्रो। र माथि नै उक्लिनु पर्ने ।

त्यसै बखत मनमा अर्को कुरा पनि आयो । होईन यतिमाथि हिमालमा हुने भएर नै यसको यत्रो महत्व र महँगो भएको होला नि भन्ने पनि लाग्यो। 

त्यतिकैमा, यार्चाबारे पढेको केही कुराहरु मनमा आयो, भोट भाषामा ‘यार’ भनेको वर्षामास, ‘चा’ भनेको घाँस, ‘क्हुन’ भनेको हिउँद र ‘बु’ भनेको किरा, यानिकी वर्षामासमा घाँस र हिउँदमा किरा हुने हुदाँ यसको नाम यार्चाकुन्बु भएको, चौधौं सताब्दी तिर न्याम्न्यी दोर्जे (१४३९–१४७५), एउटा तिब्बती लामा तथा चिकित्सक, ले ‘अन ओसियन अफ अफ्रोडिजियाकल क्वालिटिज’नामक किताबमा सर्वप्रथम यार्चागुम्बुको गुण यौनशक्तिवर्दक भनेर उल्लेख गरेको, र सन् १९९३ जब चाइनिज लामो दुरिका म्याराथोन धावकहरुले अन्तर्राष्ट्रिय रेकर्डहरु तोडेपछि यसको रहस्यको मुल कारण यार्चागुम्बु रहेको पुष्टी भएपछि एकाएक यसको माग र अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको हो।  पछि बिबिसीले ‘हिमालयन भायग्रा’ भन्ने बनाएको डकुमेन्ट्री दृष्य पनि आँखैमा आयो । उकालो छिचोल्ने क्रम जारी थियो, तपतप पसिना चुहिँदै थियो।

त्यतिकैमा मनमा अर्को कुरा पनि आयो, प्रकृतिको लीला पनि गजब हुँदोरहेछ। यदि हिमाली भुभागमा यो यार्चागुम्बु नहुँदो त जिविका चलाउन कस्तो गाह्रो हुँदो हो। किन भने यहाँ कृषि उब्जाउको लागि न त भुगोल नै मिलेको छ न त सिचाँइको सुविधा बस आकाशे पानीको भरमा खेती गर्नुपर्छ। भएको अन्नले ६ महिना पुर्‍याउन पनि धौधौ हुन्छ। यस्तो ठाउँमा यार्चा भएर यहाँका मानिसलाई केही राहात त मिलेको छ। यार्चा खोज्न आए धेरथोर जे जस्तो भए पनि केहि त पाउँछ र त्यसैले केही हदसम्म घरखर्ची चलाउने जोहो त हुन्छ।

प्रकृतिको लिला अपरम्पार छ। त्यस्तैगरि यदि सोलुमा सगरमाथा नभइदिएको भए, त्यहाँका शेर्पाको जीवन कस्तो हुँदो हो। खाडी मुलुकमा तेलको खानी नहुँदो त आज खाडी मुलुकको विकास यस्तो हुँदैन थियो होला। प्रकृतिले जहाँ जस्तो भुगोल र भूमी त्यहाँ त्यस्तै जिविकोपार्जनको लागि केही न केही उपहार दिएको हुँदोरहेछ जस्तो लाग्यो। पूर्वी नेपालको ओसिलो खोल्सामा अलैंची नहुँदो हो त त्यहाँको जनजीवन कस्तो हुँदो हो। आदि इत्यादि कुरा मनमा खेलाउँदै अघि बढ्दै थिए र थाहा नपाईँ हाम्रो क्याम्पमा पुगेछु।

क्याम्पमा पुग्दा पुरा माथिदेखि तल दायाँबायाँ सबै चौरहरू निलो, रातो, पहेलो र सेतो रंगीबिरङ्गी टेन्टले भरिएको थियो। कुनै टेन्टको छेउबाट त कुनै टेन्टको भित्रबाट धुवाँ आकाशमा तिर हानेझैं गरी उडिरहेको थियो। कोही टेण्टको बाहिर मानिसहरू कपमा चिया खाइरहेका थिए। कोही खाना पकाउनमा ब्यस्त देखिन्थे। कोही दाउराका भारी लिएर क्याम्पतिर आइरहेको थिए। कोही ग्यालिनमा पानी लिएर आउँदै थिए। लाग्थ्यो कि, सबै आ-आफ्नो धुनमा कुनै उत्सवको तयारी गरिरहेको थियो।

प्राय: सबैको टेन्ट अगाडि दाउराको ढङ्गुर थियो। सबैजसो टेन्टको खम्बा भोजपत्रका कलिला काठहरु गाडेको थियो। त्यतिखेर मेरो मनमा अर्को प्रश्न उठ्यो। होईन यस्तो संवेदनशील हिमालको काखमा सधैं वर्ष पिच्छे यसरि काठ दाउरा काटे त एक दिन यहाँका पुरै जंगल नै सखाप हुन्छ होला, दाउराको ठाउँमा अन्य कुनै खाना पकाउने स्रोत र टेन्टको पोल पनि काठको सट्टा अन्य कुनै फलाम या आल्मोनियमको खम्बा वैकल्पिक भए रूख काट्नबाट जगंल जोगिन्थ्यो र वातावरण जोगिन्थ्यो होला नि भन्ने लाग्यो। यसरी सोच्दै अगाडि बढ्दै गर्दा म हाम्रो टेन्टमैं पुगेँ।

म हाम्रो टेन्टमा पुग्दा साथीहरु खाना बनाइरहेको थिए। मेरो लागि चाउचाउ र चिया राखिएको थियो। मेरो भने अलिअलि टाउको दुखेको थियो। चिया र चाउचाउ खाएँ र एकछिन पल्टेको त भुसुक्कै निदाएछु। केही बेरपछि साथीहरूले खाना खान उठाए। खाना खान खासै मन नै थिएन, सायद हल्का लेक लागेकाले होला। तै पनि साथीले खान कर गरे र थोरै खाएँ। भोलि बिहान बन कतिखेर छोड्ने हो रे भनि सोधेँ।

बिहान सात बाजे गाउँले भेला हुने भन्ने कुरो छ भनेर भने। म थाकेर लोत थिए। साथीहरू भने भोलि बिहानको लागि खानाको तयारी गर्दै थिए। यार्चा टिप्दा फापरको ढेसु (फापरको एक प्रकारको रोटी) लाने गर्दा रहेछन्। फापरको ढेसु खाए तागत र लामो समय भोक नलाग्ने भएकोले प्रायः सबैले फापरको ढेसु नै खाने गर्थे। साथीहरु ढेसु बनाउनतिर लागे। थाकेर होला क्यारे एकैछिन मै निदाएछु।

०००

बिहान करिब ५ बजेतिर निद्रा खुल्यो । एक जना साथी उठेर चिया पकाउँदै थियो । यसो उठेर बाहिर निस्केको त सेताम्मे हिउँ थियो।

अहो हिउँ परेको रैछ त हगि? भनेर मैले सोध्दा धेरै छैन ‘करीब दुई इन्च जती हिउँ मात्र परेको रैछ भनेर साथीले भने।’

बिस्तारै अरू साथीहरु पनि उठ्न थाले ।

सबैले दनदन बलेको मुडाको आगोको वरीपरि बसेर चिया र सातु खायौं ।

एक छिनपछि एक जना साथीले बेलुका बनाएको फापरको ढेसु धिक्चीबाट निकाल्दै बाडे, हामी चार जना थियौं।

सबैले आ-आफ्नो धेसु झोलामा हाले। अझै त्यस माथि एउटा चाउचाउ र एउटा बिस्कुट पनि थपे। मलाई खासमा चाउचाउ मन पर्थेन तर पनि भोक लाग्ला कि, भनेर मैले एउटा चाउचाउ र बिस्कुट हालेँ।

सबैले आफ्नो ढेसु झोला हाले। कोही कुटो तयार गर्दै थिए। हामी चार जनामध्ये दुई जनासँग यार्चा खन्ने कुटो थियो भने दुई जनासँग काठ तिखारेर बनाएको हतियार थियो।

हामी तयार गर्दै थियौं तलतिर बसेका मानिसहरू भने माथि हिँड्दै थिए र जानेबेला भएन भन्दै जान्थे। केही बेरपछि हामी पनि तयार भयौं। टेन्ट वरिपरि ढुङ्गा र दाउराहरुले छेकबार लगाएर हामी पनि माथि तिर उक्लियौं। करिब आधा घान्टाको उकालो हिँडे पछि एउटा चउरमा सबै जम्मा हुँदै थियौ। हिजोको हिउँले बाटोमा अलिअलि बरफ पनि जमेको थियो।


बिस्तारै मानिसहरू जम्मा हुँदै थिए। समय बिहानको सात बज्नै लागेको थियो, एक छिनमा सबै जम्मा भए।  छलफल भयो, जसअनुसार त्यस दिन छ्युकार्बो बनमा यार्चा टिप्ने, त्यसको भोलि उता माथि लुङ्जु बनमा र पर्सी उता तोपारको बनमा टिप्न जाने  निधो भयो।

त्यसबेला डोल्पाका प्रायः बनहरूमा माओवादीले बन फुकाउने र बनको पुर्जी उठाउने गर्थे, तर हाम्रो बन चाही सानो भएकोले माओवादीले त्यति चासोका साथ लिदैनथ्यो।

केहि बेरपछि गाउँका एक जनाले सिटी फुके र सबै जना दर्गुदै आ-आफ्नो गतिमा अगाडि बढे। त्यहाँबाट यार्चा पाउने ठाउँ करिब २० मिनेट जति लाग्थ्यो। युवाहरू र प्रायः छिटो दगुरे भने महिला र केही दगुर्न नसक्नेहरु बिस्तारै हिँडे, म पनि दगर्नु नसक्नेकै हुलमा सामेल भएँ। हामी पुग्दा कोही भने माथि नै पुगेका थिए। बनभरि बस्तु छोडे जस्तै सबै सबै आफ्नो धुनमा यार्चा खोज्दै थिए। कोही भने, सो सो भन्दै कोदालोले भुइ खन्दै थिए।

एकातिर राती परेको हिउँले खोज्ने गाह्रो बनाएको थियो भने अर्कोतिर जति खोज्दा नि नपाएर बिरक्तिएँ म। तै पनि पनि यताउति गर्दै कहिले घिस्रिएर र कहिले दुई घुडाँ टेकेर यताउता खोजिरहेको थिएँ। म सँग खोज्ने एक जना साथीले मेरै छेउबाट एउटा खनिहाले। त्यसैगरी अर्कोले उता सोसो भन्दाइ खने। म एकछिन जिल्लै परेँ।

त्यसबेला एक जना भाइ मेरो नजिक आएर सोधे, ‘कति भेट्नु भयो दाजु?’, छैन नि एउटा पनि भनेँ र ती भाइले त्यसोभए लौनुस मेरो तर्फबाट भन्दै एउटा यार्चा दिए। उनलाई सोध्दा, उसले करिब २५ वटा यार्चा भेटेको सुनाए। एकछिन पछि भाइ आफ्नो बाटो लागे, म पनि खोज्दै थिएँ, हिजो रातिको सपनाको याद आयो...

एउटा सेताम्मे हिमालको काखमा एउटा सानो चौर थियो, त्यो चौरमा सानोसानो बुकीहरू थिए। चौरको दायाँ  एउटा सुन्दर हिमताल थियो, बायाँबाट सानो खहरे खोला बग्दै थियो । त्यही बिचको चौरमा म यार्चा हेर्दै थिएँ। चउरभरि यार्चा लटरम्म थियो म भने सकिनसकि खन्दै थिए। केहि बेरपछि दुई बोरानै पो यार्चा खनिएछु, मन एक दमै प्रफुलित भएँ। त्यतिकै मा ब्युझिएँ, यसो आखाँ खुल्यो त्यो त सपना पो थियो। 

साँच्ची रातिको सपना जस्तो भएको भए कस्तो हुँदो हो भन्ने लाग्यो। सपना सम्झेको एक छिनपछि समय करिब दिनको ११ बजेको थियो, खोज्ने क्रममा बल्लबल्ल एउटा यार्चा देखेँ, गैंडाको खाग जस्तै तर सानो, गहुँगोरो रंगको वरिपरि घाँसको बिचमा चिटिक्क परेको, एकछिन यसो हेरेँ, मनमा एक किसिमको उमंग आयो, त्यसपछि मसँग भएको तिखो काठको हतियार जमिन घोंच्दै सो सो भन्दै खने। त्यसपछि भने क्रमशः १० देखि १५ मिनेटको अन्तरालमा यार्चा भेट्दै गएँ।

दिउँसो करिब एक बजेको थियो, हामी खाना खान रोकिने क्रममा थियौं, कोही भने ढेसु टोक्दै यार्चा खोज्दै थिए। म सहित केही साथीहरू भने खान बसौं, खानामा कसैको ढेसो कसै भात, जसको जे जस्तो भए पनि हामीले एउटा रूमालमा सबै खाना मिसाएर सँगै खायौं।

केहीबेरमा दुई जना केटाहरू चाउचाउ खादै यार्चा खोजिरहेको थिए। त्यो देखेर मनमा फेरि अर्को प्रश्न उठ्यो। यद‍ि एक जनाले दिनको एउटा दुइटाको दरले चाउचाउ र बिस्कुट दिनहुँ खाँदा डोल्पाको पाटनहरूमा कति प्लास्टिक होलान्। वर्षेनी यार्चा टिप्न पाटनमा जम्मा हुने ४०,००० देखि ५०,००० सम्मका मानिसले खाएको चाउचाउ र बिस्कुटको खोल मात्राले कति फोहोर हुँदो हो।

यसरि यो तरिकाले हिमालको पवित्रता र मानिसको अत्यधिक चाप र दोहनले भोलि यार्चा नपाउने चुनौती पनि आउन सक्ला भन्ने कुरा मनमा लाग्यो। केहिबेर पछि खाना खाएर फेरि हामी यार्चा खोज्न तिर लाग्यौं । फाट्टफुट्ट भेटिए। दिउँसो करिब ४ बजे भोक लाग्यो र झोलाबाट बिस्कुट निकालेँ। बिस्तारै बिक्कुट टोक्दै यार्चा खाज्दै गरेँ। करिब ५ बजे तिर मानिसहरु अब क्याम्प तिर झर्न थाले। म पनि बिस्तारै खोज्दै र झर्दै गरेँ।

६ बजेतिर क्याम्पमा आएँ, हाम्रो दुई जना साथीहरू भने आएर पनि चिया खादै यार्चा केलाउँदै थिए, उनीहरूमध्ये एक जनाले १०० र अर्कोले १२० पाएको रहेछ। मैले झोलाबाट यार्चा थालमा खनाए र यसो गन्दा ४० पाएको रहेछु र एउटा तुथब्रस लिएर यार्चा केलाउन थालेँ। केहीबेर पछि अर्को साथी पनि आए। दुई जना साथीहरू भने खाना बनाउन तिर लागे।


 


 

Comments

Popular posts from this blog

The story from Kimathangka Border in Nepal

  “Ten years ago, the people of China were living a very hard life. In winter, they used to come to our village (Hungong) to seek jobs. They used to work for us on wages. But these days things have changed. Now people from here (Nepal) go to China for work.” At 7:15 am on October 18, 2021, we started our journey from Chhumser village of Bhotkhola  Rural municipality of Sankhuwasabha district towards Kimathanka. After leaving Chhumser village, we traversed through jungles, hills, and  ravines, passing by cascading waterfalls, lush vegetation, and a swift water stream, reaching a place called Dungokpa. It was an arduous journey traversing, descending, ascending, and descending again over a period of seven hours. There were two cowsheds in Dungokpa, along with the powerhouse of Kimathangka Micro-hydropower Project. The road from Kimathangka passed through here, and after following the road for an hour and a half, we reached the check post of Barun Conservation Area. From the...

बस्तु विनिमय प्रथा: याङ्माली भोटे र तम्मोरखोले लिम्बुको आलु र कोदो साटासाट

" माघको महिना , वरिपरिको डाँडाहरुमा सेताम्मे हिंउ परेको , वरपर घनाजंगल   र बिचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी । वरिपरी निलो पहेलो रंगका पालहरु टाँगिएको थियो । तल तिर   याङ्मा खोला कन्चन   बगिरहेको आवाज सुनिन्थ्यो। पालको बाहिर र चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटे हरु   तमोरखोला बाट माथि आउने लिम्बुहरुको बाटो हेरीरहे का थि ए ।   ढ ा क्रा बोकेर एकहुल लिम्बुहरु जब आइपुगे   भोटेका केटाकेटीहरु " रोङ्बा   लेप्सो , रोङ्बा   लेप्सो "   (लिम्बुहरु आयो लिम्बुहरु आयो ) भनि चिच्या ए ।   बयस्क भोटे हरु हतारहतार गरी लिम्बुहरु आइरहेको बाटो तिर कु दे ।   लिम्बुहरुलाई तानेर   आ’ आफ्नो पाल मा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो । मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जिविकोपार्जनको लागी अभिन्न अङ्गको रुपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनीमय भनेको दुइ वा दुइ भन्दा धेरै   मानव समुह   बिच विना मुद्राको प...

किमाथाङ्का डायरी–२ : राहत पठाउँछ तर, चेली रोक्छ चीन

  विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन । नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर गर्‍यो । कैयौंले रोजगार घुमाएको र कैयौं मानसिक रुपमा विक्षिप्त भई आत्महत्या गरेका खबरहरू सुन्यौं, हेर्‍यौं र पढ्यौं । नेपालको सन्दर्भमा विशेषगरी नेपाल र भारत नाका छेउछाउ र नेपालबाट भारत काम गर्न जाने जमातको दुःख–पीडा, भोगाइ बारेमा धेरै सुन्यौं, हेर्‍यौं र पढ्यौं । तर चीनसँग सीमा जोडिएका सीमा क्षेत्रका बासिन्दाहरूको बारेमा विरलै पढ्न, हेर्न र सुन्न पायौं । हुन त यो यात्रा संस्मरणमा कोभिड–१९ ले उत्तरी सीमा क्षेत्रमा पारेको पूरै प्रभावहरूबारे चर्चा गर्न सम्भव छैन । तर पनि मेरो यात्राको दौरानमा मेरो आफ्नो यात्रा अनुभवसँगै मैले देखेका, सुनेका र भुईं मान्छेहरूले सुनाएका, राष्ट्रिय मिडियाहरूले छुटाएका विषयवस्तुको उठान मात्र गर्नेछु । राहत बाँड्ने ...