पीडा आ-आफ्नै छन् । देश घुम्दै जाँदा देखिन्छ । ती पीडाहरूलाई मल्हमपट्टी लगाउन नसके पनि, तिनका वेदनालाई कोट्याउने गर्छु । राज्यले सम्बोधन गर्न सकोस् या नसकोस्, तर भुईंमान्छेहरूको भोगाइ र कर्मको साक्षी हुन म लेख्ने गर्छु । म घुम्छु देशलाई हेर्न । म घुम्छु बेला बेला देशको चित्र हेर्न । अनि लेख्छु भुईंमान्छेहरूको कथा । यसै सन्दर्भमा आज म महाकाली पार गरेर धार्चुलामा बोजु बोक्नेहरूको कथा पस्कँदैछु । ‘बोजु बोक्ने’ अर्थात् भारी बोक्नेहरूको कथा । दार्चुला यानिकी नेपालको सबैभन्दा सुदूरपश्चिमको जिल्ला । भारत र चीनसँग सीमा जोडिएको एउटा दूरदराजको नेपालको एउटा जिल्ला । लिपुलेक, लिम्पियाधुरा र कालापानीको बहसले बेलाबेलामा राष्ट्रिय मिडियाहरूमा चर्चा आइरहने एउटा जिल्ला । त्रि-देशीय नाका भएको जिल्ला । उत्तरपट्टिको सिमाना चीनसँग जोडिएको र जुन अग्ला हिमालहरूले छुट्याएको र भारतसँगको सीमा भने लिपुलेक, लिम्पियाधुरा र कालापानी उद्गमस्थल भएर आउने महाकाली नदीले छुट्याएको छ । माथि ब्यास उपत्यकामा महाकाली पारि र वारि सीता पुलबाट हुँदोरहेछ भने तल खलङ्गामा पारि र वारि आवतजावत महाकाली पुलबाट हुँदोरहेछ । म...