जीविकाकै लागि नुन र उवाको भारी बोकेर तल्लो भेग झर्नुपर्ने हिमाली बासिन्दाको दुःख यार्सागुम्बाले पन्छाइदिए पनि यसको कारोबारसँगै बढेका दुर्घटना र बेथितिप्रति सरकार चनाखो देखिँदैन। विश्व बजारमा यार्सागुम्बाको पहिचान र माग ह्वात्तै बढ्न थालेको करीब तीन दशकअघि हो। सन् १९९३ मा लामो दूरीका चिनियाँ धावकहरूले एकपछि अर्को अन्तर्राष्ट्रियहरू रेकर्डहरू तोडेपछि कारण खोतल्दै जाँदा उनीहरूले यार्सागुम्बा सेवन गर्ने गरेको पाइयो। त्यसपछि उनीहरूसँगै यार्साको पनि प्रचार बढ्यो। यद्यपि चीनमा यार्सागुम्बा शताब्दियौं पहिलेदेखि नै प्रयोगमा रहेका ऐतिहासिक प्रमाणहरू छन्। नेपालमा पनि डोल्पा, जुम्ला, मुगु, कालिकोट, दार्चुला, बझङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, संखुवासभा लगायत हिमाली जिल्लामा यार्सागुम्बा पाइन्छ। यो जडीबुटी ३९०० मिटरदेखि ५१०० मिटरसम्मका घाँसे मैदान, भीरखोल्सा तथा पाटनहरूमा हुन्छ। हामीकहाँ यार्सागुम्बा प्रयोग कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट छैन। तैपनि, नेपालको हिमाली र तिब्बती समाजको पारस्परिक सम्बन्धको आयाममा यसबारे केही...