मानव सभ्यताको उदयसंगै वस्तु विनिमय मानव जिवन पद्दतिको एउटा अभिन्न अंग थियो । ढेङ्गेयुगको बेला देखि नै जब मानवहरु झुन्ड झुन्डहरुमा बस्ने, घुमन्ते र फिरन्ते जीवन ब्यतित गर्दा देखिबाट एकअर्का बिच मासुसंग हातहतियारहरुको साटासाटबाट प्रारम्भ भएको वस्तु विनिमय, पछि कृषि युग हुँदै मुद्राको प्रचलन नहुँदा सम्म विश्वका प्राय मुलुकहरुमा चलिरह्यो । जसरि अहिले विश्व ब्यापीकरणसंगै एक देशमा उत्पादित वस्तुहरु बडेमान पानिजहाज तथा हवाइमार्ग र रेल मार्ग द्धारा सात समुद्र पारि लगिन्छ । त्यसरि उ बेला पनि औधोगिकरण हुनु अघि पनि महिनौ दिनको लामो यात्रा गरेर वस्तुभाउहरुको लावालस्कर (क्याराभान ट्रेड) गरेर एक ठाउँको उत्पादित वस्तु अर्को ठाउँको वस्तुसंग विनिमय हुन्थियो ।
इतिहासको एक कालखण्डमा कर्णाली संबृद्ध थियो । खस साम्राज्यको भैवब काठमाडौं (नेपाल)उपत्यका सम्म थियो । खस साम्राज्यको उदगम भूमि होस या नेपाली भाषाको उदगमभूमि, कर्णालीको एउटा आफ्नै बिराट इतिहास थियो । भेरी र कर्णाली जस्ता अलौकिक नदीहरुको उदगम बिन्दु नेपालको इतिहासमा एउटा छुट्टै बिरासत बोकेको क्षेत्र हो कर्णाली । त्यस बेलाको कर्णाली एककिसिमको समृद्ध थियो।कर्णालीमा उत्पादित अनाज तिब्बतमा निर्यात हुन्थियो । समृद्ध कर्णाली बनाउने मान्ठाहरु (हिमाली जाति÷भोटे,खस, र मतवाली)हरुको कर्मभूमी कर्णाली, र तिनै कर्मठ हटारु मान्ठाहरुको इतिहास कोट्याउने प्रयास यो आलेखमा गरिनेछ ।
कार्णालीका उच्च हिमाली भूभाग भोट तिब्बतसंग सिमा जोडिएका क्षेत्रहरुमा हिमाली जातीहरु, मध्य तिर मगर र मतवाली जातीहरुको बासस्थान रहेको पाइन्छ भने कर्णालीका तल्लो भु–भाग खस र ठकुरीहरु बसोबास क्षेत्र हो । यि तिन क्षेत्रका भुभागहरमा बस्ने मनिसहरुको सम्बन्धलाई नुन, ऊन र अन्नले जोडेको थियो । यि क्षेत्रका बासिन्दाहरुको पेशा कृषि र पशुपालनसंगै लामो दुरिको ब्यापार थियो । ब्यापारमा बिशेष गरी नुन, ऊन र अन्नको विनिमय हुन्थियो । नुन र अन्न खानको लागि र पुन विनिमयको लागि प्रयोग हुन्थे भने ऊनबाट बस्त्र बनाएर ति बस्त्रहरु हाटहरुमा बेच्ने गर्थे । यिनै हटारुहरुले नै कर्णालीको अर्थतन्त्र थामेको थियो । हटारुको सम्बन्धलाई नेचाङ' इष्ट तथा मितमितेरी सम्बन्धले बाधेँको थियो । हटारुहरुको यात्रा तिब्बत देखि हिमाल, पहाड देखि तराइ र भारत सम्म पनि हुने गर्थे,‘हाट जान्या र भोट जान्या’ प्रक्रियामा सम्बन्धित क्षेत्रका मान्ठा(मान्छे)हरुको आआफ्नो भूमिका हुने गर्थे । वस्तु विनिमय संगै विचारहरुको पनि विनिमय हुन्थे । मानिसहरु बिच सम्बन्धहरु स्थापित हुन्थे । हिमालको सम्बन्ध पहाड हुँदैं तराइ सम्म मानिस हरु बिच सम्बन्ध स्थापित हुन्थे । भुगोललाई मानिसहरुले जोड्थे र मानिसहरुलाई संस्कृती र सम्बन्धहरुले जोड्थे । समाज आत्म निर्भर हुन्थे, मेहनेत र परीश्रमले भौतिक रुपमा दुःख भए पनि मानसिक रुपमा सुखि थिए ।‘हाट जान्या र भोट जान्या’ सबै उमेर समुह महिला, वालक देखि वयस्क पुरुष सबै समाहित हुन्थे । प्रत्येक समुहमा एक जना टोली नेता हुन्थे, ति टोली नेताले कहाँ बस्ने, कहिले फर्किने आदी इत्यादिको चाँजोपाँजो मिलाउने देखि लिएर बगाल (समुह)लाई सुरक्षित रुपमा आफ्नो गन्तब्य पु¥याउनु पर्ने नैतिक दायित्व हुन्थे । त्यही बगाल (समुह)को बिच बालक र युवाहरु बिस्तारै त्यहि भित्र नेतृत्वको पनि बिकास हुन्थे । यि र यावत हेर्दा केहि नदेखिने जस्तो तर त्यस भित्र जिवन पद्दति र मानविय महत्व पूर्ण आयमहरु थियो ‘हाट जान्या र भोट जान्या’ संस्कृतिमा ।
उत्तरमा तिब्बतसंग सिमा जोडिएका हिमाली जातीहरुले वर्षा याममा तिब्बतमा गएर नुन लिएर आउँथे कार्तिक मंसिरमा त्यही नुन लिएर याकमा जाकेर रोङ (बेंसि) क्षेत्रमा आएर रोङ्बाहरुसंग नुन र अन्न साटासाट गर्थे रोङ्बाहरुले फेरी त्यही नुनलाई भेडा बाख्रामा जाकेर खसान (म्होन) खस र ठकुरीहरु संग धानचामल र उवासंग नुन र ऊनको सटाबाजी गर्थे फेरी खस र ठकुरीहरुले ऊनबाट बनेका बस्त्र, सिलाजित, र जडिबुटीहरु बोकि तराई र भारत सम्म गएर ब्यापार गर्थे ।ठकुरी र खसहरुले तराइ तथा भारतबाट चिया, चुरोट, मसला, धातु जन्य, प्लास्टिक, चिनी आदि लिएर फर्किन्थे ।
कर्णालीको हटारुको रुट
कार्णालिका हटारुहरुको चार वटा प्रमुख रुटहरु थियो । ति रुटहरुबाट कर्णलिका हटारुहरु आफ्नो ब्यापार गर्थे । हुम्लाको ताक्लाकोट र लाप्चा, मुगूको नाक्चा, र डोल्पाको मरिम, कान्कुन, र क्याटो यि नाकाहरुबाट हुम्लि, मुगाली र डोल्पो आदिबासीहरुले नुन र ऊन ल्याएर रोङ(बेसि) क्षेत्रमा ल्याउने गर्थे । तिब्बत पठार र मरुभुमी भएकोले त्यहाँ नुन हुन्थ्यो तर अन्नको उब्जनि हुदैनथ्यो । त्यसैले त्यहाँको लागि अन्न महत्वपूर्ण थियो भने दक्षिण कर्णाली क्षेत्रमा नुन नभएकोले नुन महत्वपूर्ण थियो । त्यहि दुइ क्षेत्र बिचको वस्तुको आपूर्ति हटारुहरुले गर्थे । तिब्बतबाट ल्याएको नुन तीन क्षेत्र हुँदै, मध्य कर्णालीमा आउँथ्यो र मध्य कर्णालीको अन्न फेरि तिब्बत पुर्याउँथे । त्यस बेला कर्णाली हटारुहरु चार वटा प्रचलित रुटहरु थियो ।
(१) एउटा उपल्लो मुगू–करण र जाजारकोट हुँदै दैलेख
उपल्लो मुगूका मुगालीहरु र करणिहरुले तिब्बतबाट नुन लिएर खसान क्षेत्रमा ल्याउँथे । खसान क्षेत्रका खस र ठकुरीहरुले त्यहि नुन जाजरकोट हुदैं सुर्खेत र दाङ सम्म पुर्याउँथे।
(२) उपल्लो हुम्लाको ताक्लाकोट र लाप्चा ला बाट तल्लो हुम्ला हुदैं बाजुरा र अछाम सम्म
उपल्लो हुम्ला सन्जाल –ताक्लाकोट नाका एकदमै महत्वपूर्ण नाका थियो । यस वरपर धेरै वस्ति भएकोले पनि त्यो नाका निकै महत्वपूर्ण थियो । उता महाकाली तिरबाट ब्याँसीहरु पनि ताक्लाकोट आउँथ्यो । लाप्चा ला बाट लिम्यालहरुले नुन ल्याएर सिमिकोट वरपर विनिमय गर्थे ।
(३) त्यस्तै गरी डोल्पाको नांखोङ (साल्दाङ), फोक्सुन्डो र रिग्मो तिरबाट डोल्पोहरु नुन लिएर तल्लो डोल्पाको रिमि, काईगाउँ हुदैं जुम्लाको मनीसाङु, डिल्लीकोटसम्म नुन लिएर पुग्थे । त्यस पछि ति नुनहरु खस र ठकुरीहरुले बाजुरा र अछाम सम्म पुर्याँउथे ।
(४) उपल्लो डोल्पाका डोल्पोहरुले मरिम, क्याटो नाका हुँदै तिछुरोङ क्षेत्रमा नुन ल्याउँथे । त्यहि नुन तराली मगरहरुले रुकुम र जाजरकोट सम्म ल्याएर चामलसंग साट्थे ।
०००
केश नं. १
डोल्पा तिछुरोङ क्षेत्रका तराली मगरहरु र उपल्लो डोल्पाका डोल्पो जातिहरु बिच नेचाङ (इष्ट)को सम्बन्ध थियो । कार्तिक मंसिरको महिनामा डोल्पो नेचाङ (इष्ट) हरुले भोटे नुन र ऊन लिएर तिछुरोङ आउने गर्थे । अनि नुन र अन्नको विनिमय हुन्थियो । तराली मगरहरुले आफुलाई चाहिने नुन राखेर बाँकी अधिशेस नुन लिएर फेरी मंसिर तिर दक्षिण खसान क्षेत्र हुँदै रुकुम र जाजरकोट सम्म बाधे (भेडाबाख्रा)मा जाकेर बकर (भेडाको क्यारभान) जाने गर्थे । ति नुन चामलसंग साटेर चैत्र बैशाखमा तिछुरोङ फर्किन्थे । त्यो संग कसैले ऊन र अन्न साटेर ऊनबाट स्विटर, पटुका, राडी बुनेर जंगलाको लेख छिचोल्दै रुकुम र रोल्पा सम्म पुग्थे । रुकुम रोल्पामा ति समान बेचेर बुट्वल र भारतको कालिम्पुङ र कल्कता सम्म पुगेर चिया, घोडाको घण्टि, आदी ल्याएर चित्र बैशाख तिछुरोङ फर्किन्थे । ति समान लिएर फेरि साउन भदौमा उपल्लो डोल्पा (भोट) जाने गर्थे ।
केश नं. २
मुगूको उपल्लो क्षेत्रका मुगूम र करनहरु साउन भदौमा नाम्जाला पास भएर याक क्याराभान लिएर तिब्बतको छेप्तु जान्थे । त्यहाँ मुगालीहरु र तिब्बती ड्रोक्पाहरु नुन र अनाज साटेर मुगालीहरु नुन लिएर आउँथे । मंसिरमा फेरी त्यहि नुन र उन लिएर मुगाली र करनिहरु मुगूको गम्गडी आसपास र जुम्लाको सिंझा सम्म पुग्थे । त्यहाँ उनिहरुको नेचाङ (इष्ट) खस र ठकुरीहरु हुन्थे । नुन र ऊन, चामल लगायत अन्य अन्नसंग साट्थे ।
केश नं. ३
हुम्लाको प्रमुख र मुख्य नाका ताक्लाकोट कर्णालीको सबै भन्दा महत्वपुर्ण नाका थियो । यो नाकामा हुम्लाको मात्र नभएर बझाङ र दर्चुलाको ब्याँसिहरु नुन लिन पुग्थे । बिशेष गरी हुम्लाबाट नुन लिन बिभिन्न समुदायहहरु जस्तै साथ थाप्ले (यारि, तुम्कोट, मुचु, याङ्गर, याल्बाङ, र छाला), स्यान्देफाले (खाङ्गल गाउँ, जाडखोल्चि), पाँचसती (केर्मि, दिङ्ना, च्याडुकि, याक्बा, र टाङेन), बाह्रथाप्ले (बुरुङ्शे, तोर्पा, निमाटाङ, र बरगाँउ), लिमी (तिल, हाल्जी र झाङ) आदी ताक्लाकोटमा गएर नुन र अन्न साटेर ल्याउथे । हुम्लामा लिमीका हटारुहरु लाप्चा पास भएर तिब्बत जान्थे । त्यसै गरी हुम्ला कर्णालिको पश्चिम भेगमा बस्ने दार्मा, मेल्छाम, दिपलाङ र नेप्का बासीहरु भने ताँके खोला हुँदै चाङ्ला पास हुँदै तिब्बत गएर नुन र अन्न साट्थे । सातथाप्ले (यारि, तुम्कोट, मुचु, याङ्गर, याल्बाङ, र छाला), त्यही नुन र ऊन याक, जोपालाई जाकेर बाजुरा र आछाम सम्म पुग्थे । त्यसै गरि पाँच थाप्लेका याक्बाहरु भेडामा नुनको लुकाल(भारि) जाकेर कार्तिक तिर अछाम पुग्थे । त्यसै गरी हुम्लाका बाह्रथाप्लेहरु पनि भेडालाई नुन बोकाएर रास्कोटधारा हुँदै बाजुरा पुग्थे भने लिमीका लिम्यालहरु तल्लो हुम्ला ठकुरी र खसहरुसंग नुन र अन्न साट्थे । नुन संग अन्नका साथै खेर्सानि, चुरोट र मह आदी पनि साट्थे ।
केश नं.४
जुम्लाका खस र ठकुरीहरुले नुन, ऊन सगंसंगै जाडिबुटिहरु, शिलाजित, कस्तुरिको बिणा आदि लिएर नेपालगन्ज र भारतसम्म पुग्ने गर्थे । तराइ तथा भारतबाट मसला, चिया, चिनि, धातुबाट बनेका चिजबिज आदी लिएर आउँथे र ति बस्तुहरु फेरि मूगालीहरुलाई बेच्ने गर्दथे ।
नुन चक्रमा ग्रहण र हटारुको अवस्था
एकछत्र रुपमा चलेको भोटे नुन चक्रमा बिस्तारै सन् १९५९ पछिको ग्रहण लाग्दै गएको देखिन्छ । शुरुमा एकछत्र रुपले चलेको भोटे नुन चक्र बिस्तारै आंसिक हुँदै विस्तापन सम्मको अवस्थामा पुग्यो । भोटे नुन चक्र विस्तापन हुनको कारणहरु बारे मानवशास्त्रीहरु हेमन्ड्रफ (१९७५), जेम्स फिसर (१९८७), केन्नेथ बौएर(२००४) र भूगोलविद बेरी सि. बिसप (१९९०) ले गरेको अध्ययनहरुमा भेटिन्छ । उनिहरुका अनुसार नुन चक्रमा ग्रहण लाग्नुको एक प्रमुख कारण, तिब्बतलाई चिनले आफ्नो अधिनमा राखेर सिमा सम्बन्धी नितिमा कडाइ गर्यो । चिन सरकारले तिब्बतमा भोटेनुनमा अत्याधिक कर बढायो र भोटे नुन उत्पादनमा पनि कोटा प्रणाली लागु गर्यो । जस्को कारण भोटे नुन महँगो हुन थाल्यो । सिमामा कडाइ कारणले पहिला जस्तो सजिलै आवत जावत गर्न सम्भव थिएन । अर्को पक्ष बिकासमा आएको परीवर्तन जस्तै नेपालको पुर्व पश्चिम महेन्द्र राजमार्ग, तथा हवाइ एयरपोर्टहरुको निर्माण, १९६३ मा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको स्थापना पश्चात देशी नुन मध्य पहाडी क्षेत्रहरुमा हेलीकप्टर चार्टर गरेर हिमाली जिल्लाहरुमा सहुलियत रुपमा वितरण गर्न थाल्यो । त्यस संगसंगै भोटे नुनमा खुला भएर आयोडिन नहुने र त्यसको कारण गलगाँड आउँछ भन्ने खालको बजारिय बिज्ञापन, र औलो उन्मुलन जस्ता विविध कारणले भारतिय देशि नुनको बजार बिस्तारमा टेवा पुग्न गयो र फलस्वरुप त्यस्ले पनि भोटे नुन बिस्थापन हुन गयो र फलस्वरुप भोटे नुन बिस्थापन भयो ।
नुनको चक्र हराउदै जाँदा त्यसको प्रत्यक्ष असर हिमाली आदीबासीहरुको जीवन, ज्ञान, सिप, र कलाहरुमा पर्न गयो । लामो दुरिको यात्रा ब्यापार ब्यावसायमा मानव संसाधनको आवश्यकता हुन्थे र त्यसलाई बहुपति प्रथाले पुर्ती गराउनमा भूमिका खेलेको थियो । संगसंगै नुन बोक्नको लागि याक, जोपा, घोडा र भेडाबाख्रा पाल्नु पर्दथियो । लामोधुरीको भोटे नुन चक्रको यात्राको सारथी यिनै वस्तुभाउहरुसंग हुन्थियो । यिनै वस्तुभाउहरुमा भारी बोकाएर भोटे नुन र अनाज लिने ल्याउने गर्दथियो । जब चिनले सिमा क्षेत्र कडाइ गर्यो, त्यस संगै चरनको लागी असुबिधा हुन गयो र त्यो संगै पशु पालन घट्दै गयो पशुपालन घटे पछि उनको पुर्तीमा पनि कमि आउन थाल्यो र ऊनबाट बुन्ने कपडाहरु बख्खु, दोचा, कम्मल आदीको उत्पादनमा घट्दै गयो । त्यससंगै आदीबासी ज्ञान र सिपहरु पनि ओझेलमा पर्दै गयो । आदीबासी ज्ञान, सिप, कलाबाट बनेका लुगाफाटाहरुको सट्टामा नयाँ बजारिया लत्ता कपडा र खानाहरुले ठाँउ ओगट्न थाले । बहुपति प्रथा पनि बिस्तारै घट्दै जान थाले ।
यसरी ‘हाट जान्या र भोट जान्या’ विस्तापित हुदैं जाँदा र कर्णालीका हटारुको सवालमा नुनको ब्यापारको मन्दि पछि जनजिवन झन कठिन र कष्टकर हुँदै गयो । हिजो तिब्बतमा अनाजको निर्यात गर्ने कर्णालीका हिमाली क्षेत्रमा आज त्यहि तिब्बत तिरबाट चामल आयत गरिरहेको छ । त्यसैले हिजो भोटे नुन चक्रको कालमा तिब्बतमा हाम्रो नेपालको मध्यपहाडबाट अनाज चक्रको विपरित आज ति हिमाली भुभागहरुमा चामल, मैदा, घिउ, तथा दैनिक उपभोगको वस्तुहरुको लागि पुर्ण रुपले चिनमा भर पर्नु परेको छ । त्यहिसंग स्वाभालम्भी संस्कृती घट्दै, परनिर्भरता र उपभोग्ताबादले प्रसाय पाउँदै गइरहेको छ ।
Comments
Post a Comment