Skip to main content

भोटे नुनको विस्मृत कथा

भोटे नुन हालेको लुकालको चाङ छेउ खाना पकाउँदै गरेका हुम्लाको उच्च हिमाली भेगका हटारू। तस्वीर सौजन्य: जियन कलाउडे लातेम्बे

 तिब्बतबाट भोटे नुन ल्याएर तल्लो भेगमा अन्नसँग साट्ने पद्धतिको विस्थापनसँगै त्यसैमा आश्रित सामाजिक-आर्थिक संरचनामा बाँधिएको उच्च हिमाली जनजीवन लामै समय बिथोलियो।

भनिन्थ्यो- कुनै समय चीनमा सुनभन्दा नुन महँगो थियो। नेपालमा चाहिं नुनको प्रयोग कहिले र कसरी शुरू भयो, यकिन छैन। तर, खास गरी भोटे नुन एक ताका नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा थियो; हिमाली बासिन्दाको जीविकाको आधार थियो।

इतिहासदेखि नै नेपालका हिमाली बासिन्दा धार्मिक-सामाजिक रूपमा तिब्बतसँग निकट छन्। उनीहरूको मुख्य पेशा पशुपालन र कृषि थियो, तर यतिले जीवन धान्न मुश्किल परेपछि अन्तरदेशीय व्यापार पनि शुरू गरे। सन् १८५० पूर्व तिब्बतबाट नेपालमा नुन, घोडा, ऊन, धूलो सुन, याक र चौंरीको पुच्छर आयात हुन्थ्यो। यताबाट अनाज, लसुन, खुर्सानी, लत्ताकपडा, मरमसला, मुगा, ठेकी, छुरी, चक्कुको बिंड, हस्तीहाडले बनेका बट्टा आदि पठाइन्थ्यो।

पृथ्वीनारायण शाहले विजय अभियानका दौरान सिक्किमको अधीन रहेका विजयपुर र दार्जीलिङका केही भूभाग कब्जामा लिएपछि तिब्बतीहरू चिढिए। यसले व्यापारिक सम्बन्ध ठप्प हुँदा दुवै देशका नागरिकको जीवन अस्तव्यस्त हुन पुग्यो। नेपालमा नुनको हाहाकार मच्चियो। त्यही क्रममा हिमाली नाकाबाट लुकिछिपी भोटे नुन आयात हुन थाल्यो।

भौगोलिक साँधसीमा, व्यापारसँग जोडिएका सन्धि-सम्झौता आदिको उल्लङ्घनका कारण दुई देशबीच विभिन्न समयमा युद्ध समेत हुन्थ्यो। तर पनि, बाह्रै महीना हिउँ जम्ने खास खास ठाउँ बाहेक सीमामा रहेका दुवैतर्फका बासिन्दाबीच वस्तुहरूको विनिमय रोकिएन। लामो मनमुटाव टुङ्ग्याउँदै सन् १८५६ मा नेपाल र तिब्बत सरकारबीच काठमाडौंको थापाथलीमा सन्धि भएपछि औपचारिक रूपमै व्यापारको ढोका फेरि खुलिहाल्यो। (बाबुराम आचार्य, चीन, तिब्बत र नेपाल, पृ.१६०-१६१)।

हिमालपारिको तिब्बती (च्याङ्थाङ) पठारमा फिरन्ते जीवन पद्धति थियो, अन्न उब्जाउ हुँदैनथ्यो। वारिपट्टि नेपालका उच्च हिमाली भूभाग पनि धेरै उर्वर नभएकाले स्थानीय बासिन्दाले सीमापार व्यापारलाई मुख्य पेशा बनाएका थिए। उनीहरू उत्तरको नुन दक्षिणमा पुर्‍याएर अन्नसँग सट्टापट्टा गर्थे; बाँकी रहेको अन्न फेरि तिब्बत लगेर नुनसँग साट्थे। यही नै त्यस ताकाको हिमाली जीवन थियो।

पूर्वी भेग ताप्लेजुङको ओलाङचुङगोलादेखि पश्चिमका हुम्ला र दार्चुलासम्मका उच्च हिमाली भूभागमा बस्ने वालुङ, ल्होमी, भोटे, शेर्पा, व्यासी सौका, मुगाली, न्यिन्बा, डोल्पो, निस्याङ्बा, लोवा आदि जनजातिको अहिले पनि तिब्बतसँग सामाजिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध छ। सन् १९५९ सम्म दुवै देशको सीमा खुला भएकाले मानिसहरू सजिलै वारपार गर्थे।

खेती-किसानीले नधानेर लामो समय व्यापारमा खटिनुपर्ने बाध्यताकै कारण हिमाली भेगमा धेरैले बहुपतिप्रथा अवलम्बन गरेका थिए। सबै भाइकी पत्नी एउटै हुँदा घरपरिवार केन्द्रमा रहने तथा अतिरिक्त अन्न जोहो गर्न नपर्ने सहजता थियो। अर्कातिर कुनै भाइ घरको हेरचाह गर्ने, कोही चाहिं नुनको व्यापारमा टाढासम्म खटिन सक्थे। यो प्रथाले हिमाली बासिन्दालाई भौतिक स्रोतहरूको व्यवस्थापन गर्न सघाएको थियो।

भौगोलिक दृष्टान्त

नेपालको हिमाली व्यापार र जीवनपद्धतिको स्थलगत अध्ययनमा लामो समय खर्चिएका मानवशास्त्री क्रिस्टोफ वोन फ्युरेर हेमिन्ड्रोफले सन् १९८८ मा हिमालयन ट्रेडर्स नामक पुस्तक नै लेखेका छन्।

उनका अनुसार, एक ताका उच्च हिमाली भूभागबाट मध्य पहाड अनि तराईसम्म भोटे नुनको बजार थियो। मुद्राको धेरै प्रचलन नरहेकाले उच्च हिमाली भूभागबाट मध्य पहाडका उपत्यकाहरूमा नुन र अन्न साटिन्थ्यो।

भोटे नुन सटहीको यस्तो चक्र करीब सन् १८५० देखि १९५९ सम्म व्यापक रहेको कुरा विमभान स्पेङेनले आफ्नो पुस्तक तिब्बेटन बोर्डर वर्ल्डस्ः अ जियोहिस्टोरिकल अनालाइसिस अफ ट्रेड एन्ड ट्रेडर्समा उल्लेख गरेका छन्। पूर्वबाट क्रमशः तमोर, अरुण, दूधकोशी, भोटेकोशी, सुनकोशी, बूढीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी, भेरी, कर्णाली र महाकालीसम्मका नदीको मुहान क्षेत्रमा बस्ने हिमाली जनजातिले तिब्बतबाट नुन ल्याएर यिनै नदी वरपरका मध्य पहाडी उपत्यकाहरूमा अन्नसँग सट्टापट्टा गर्थे।

तमोर नदीको मुहान आसपास (ताप्लेजुङ) का ओलाङचुङगोला, याङ्मा र घुन्सा वालुङहरूको थातथलो हो। उनीहरूको पेशा तिब्बतबाट नुन ल्याएर मेवाखोलासम्म पुर्‍याउने थियो। वालुङहरू मध्य पहाडका लिम्बूहरूसँग नुन साट्थे। त्यही नुन ढाकरमा बोकेर लिम्बूहरूले धरान पुर्‍याउँथे।

अरुण नदीको शिर (संखुवासभा) ठुदाम, रिताक र टोप्केगोला भोटे र शेर्पाहरूको थलो हो। यही भेगको केही कोस तल अरुणकै वारिपारि ल्होमी जाति बस्छन्। उनीहरू केही अन्न आफैं उब्जाउँथे भने आलु र कोदो बिक्री पनि गर्थे। ठुदाम, रिताक र टोप्केगोलाका भोटे र शेर्पाहरू ल्होमी बहुल क्षेत्रमा आई नुनसँग अन्न साट्थे। खुम्बु क्षेत्रका शेर्पाले पनि एक ताका नुन व्यापारबाट अधिक लाभ लिएको देखिन्छ। उनीहरू तिब्बतको तिंग्रीबाट नुन ल्याई दूधकोशी किनारका राईसँग व्यापार गर्थे।

त्यसै गरी कालीगण्डकीको मुहान उपल्लो मुस्ताङ लोवाहरूको थातथलो हो। उनीहरू तिब्बतको नुन तल थाकखोलासम्म पुर्‍याउँथे। थकालीसँग तिनको व्यापार चल्थ्यो। नुनसँग साटेर बढी भएको अन्न तिब्बत पुर्‍याई लोवाहरू त्यस बापत फेरि नुन लिएर आउँथे। त्यो नुन थकालीहरूले पोखरा हुँदै काठमाडौं पुर्‍याउँथे।

सन् १८५० देखि १९२० सम्म उपल्लो मनाङका निस्याङ्बाहरू भोटे नुन बोकेर तल्लो भेग पुग्थे। त्यसयता भने उनीहरूले कलकत्तासम्म व्यापार फैलाए जुन ब्रिटिशहरूले बनाएको व्यापारिक केन्द्र थियो। निस्याङ्बाहरू कलकत्तामा जडीबुटी र कस्तूरी बिना बेच्थे। त्यही पैसाले फेरि प्रत्येक पुसदेखि वैशाखसम्म रङ्गरोगनका वस्तु, सियो, मुगा तथा पत्थरको व्यापार गर्न असम पुग्थे।

असममा नेपाली मूलका मानिसको बसोबास थियो। उनीहरू घरेलु वस्त्र उत्पादन गर्थे। निस्याङ्बाहरू तिनैलाई सियो, रङ आदि बेच्थे। सन् १९५० तिर सिलिगुडीको बाटो बनेपछि त उनीहरू दार्जीलिङ, कालिम्पोङ, गान्तोकबाट कस्तूरीको बिना, भालुको पित्त, बाघ-चितुवाको छाला आदि लिएर मध्य असम, कलकता हुँदै बर्मासम्म पुग्न थाले।

निस्याङ्बाहरूको व्यापार-कलाबाट प्रभावित भएर सन् १९६० मा राजा महेन्द्रले मनाङे व्यापारीहरूलाई विशेष राहदानी नै व्यवस्था गरिदिए जसले उनीहरूलाई अन्तर्राष्ट्रिय पहुँच दियो। उक्त राहदानी मार्फत मनाङेहरूले भारतको कलकत्ता हुँदै बर्मा, मलाया, थाइल्यान्ड अनि सिंगापुरसम्म व्यापार फैलाएको विमभान स्पेङेनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

रसुवाको केरुङ र गोरखाको थोन्जे, लार्क्या र गेला नाकाबाट याक लैजान कठिन भएकाले मध्य पश्चिमका मुख्य शहर पोखरा र बाग्लुङमा पनि मुस्ताङबाटै नुन पुर्‍याइन्थ्यो।

पृथ्वीनारायणले काठमाडौं उपत्यका विजय गरेपछि सन् १९६७ सम्म साँखु पनि प्रमुख व्यापारिक नाका थियो। साँखु भन्सारबाट काठमाडौं पुर्‍याइएको भोटे नुन तराईसम्म पुग्ने गरेको क्याथरिन नेल्सन र्‍यान्किनको पुस्तक कल्चरल पोलिटिक्स अफ मार्केट्समा जनाइएको छ।

त्यस्तै, उपल्लो मुगु अनि कर्णाली नदीको उद्गमस्थल मुगाली र करिनहरूको थलो हो। उनीहरू वर्षको दुई चोटि तिब्बत गएर नुन र ऊन लिएर आउँथे। उक्त नुन साता दिन लगाएर तल्लो मुगु र जुम्ला खसान क्षेत्रमा पुर्‍याई अन्नसँग साट्थे। जुम्ला र मुगुका मतवाली छेत्रीहरू त्यही नुन तल जाजरकोट अनि तराईसम्म लगेर बेच्थे।

उपल्लो डोल्पाका डोल्पोहरू तिब्बतको नुन र ऊन तिछुरोङ क्षेत्रका तराली मगर गाउँ, हुरिकोट र काइगाउँ क्षेत्रमा पुर्‍याएर अन्नको सट्टापट्टा गर्थे। तराली मगरहरू त्यही नुन भेडालाई बोकाएर दक्षिणी खसान पुर्‍याउँथे।

हुम्लामा सातथाप्ले, यारी, तुमकोट, मुछु, याल्बाङ र छाला, स्यान्देफाले, खाङ्गल गाउँ, जाड खोल्ची, पाचसती केर्मी, च्यादुकी, धिङ्गा, याक्पा, ताङ्गेन, बारथपाले बुरुङ्से, तोर्पा, निमाटाङ, बरगाउँ, लिमी, तिल, हाल्जी र झाङका बासिन्दा तल्लो हुम्ला क्षेत्रका ठकुरी र मतवाली छेत्रीसँग भोटे नुन साट्थे। ठकुरी र मतवाली छेत्रीहरू त्यो नुन बझाङ र बाजुरासम्म लगेर बेच्थे।

महाकाली नदीको सिरान तिंकर-छाङरु उपत्यका व्यासी सौकाहरूको थलो हो। व्यासी सौका तथा हिकिला र सुनसेरा क्षेत्रका खस ठकुरी पनि तिब्बतको ताक्लाकोटबाट नुन ल्याई ब्रह्मदेव, बैतडी, डोटी र बाजुरासम्म पुर्‍याएर अन्नसँग साट्थे।

यसरी सन् १८५० देखि सन् १९५९ सम्म पूर्वी भेग ताप्लेजुङदेखि पश्चिम हुम्ला र सुदूरपश्चिमको महाकालीसम्मका उच्च भूभागमा बस्ने आदिवासी जनजातिले तिब्बतबाट भोटे नुन ल्याएर मध्य पहाडका आदिवासी जनजातिसँग वस्तु विनिमय गरेको देखिन्छ। नुन अर्थतन्त्र अर्थात् ‘क्याराभान एकोनोमी’ को वर्चस्व रहेको काल थियो त्यो।

नुन बोकेको याक क्याराभान। तस्वीर: जगबहादुर बुढा

नुनले गाँसेको साइनो

नुनकै कारण उच्च हिमाली र मध्य पहाडका जनजातिबीच सम्बन्ध गाँसिन पुग्यो। कोही इष्टमित्र बने त कसैले मितेरी साइनो (नेचाङ) लगाए। विशेष गरी उपल्लो हुम्लाका लिम्याल र न्यिन्बाको खससँग, उपल्लो मुगुका मुगाल र जुम्लीको तल्लो मुगुका खससँग, उपल्लो डोल्पाका डोल्पोको तराली मगर र खस मतवालीसँग, उपल्लो मुस्ताङका लोवाको थकालीसँग, रोल्वालिङ, सोलुखुम्बुका शेर्पाको सुनुवार र राईसँग, उपल्लो ताप्लेजुङका वालुङको लिम्बूसँग हितैषी सम्बन्ध बन्यो। तराली मगरहरुको सवालमा  दाजु भाइ बिच इष्टको बण्डा हुन्छ । आफ्नो इष्ट बाहेक अन्यसंग ब्यापार गर्न पाइन्न ।  

पाथीमा भोटे नुन भर्दै स्थानीय बासिन्दा। तस्वीर: जगबहादुर बुढा

यही सम्बन्ध हिमालपारि पनि थियो। हिमालीहरू तिब्बतीसँग मीत लगाउँथे। तिब्बतबाट नुन लिएर आउने प्रत्येक मानिसका आआफ्ना मीत हुन्थे। कोसेली आदानप्रदानले त्यो सम्बन्धलाई झन् प्रगाढ बनाएको हुन्थ्यो। यसरी नुन र अन्नको विनिमयसँगै मानवीय सम्बन्ध समेत साटासाट गरिन्थे।

ओह्रालो व्यापार

एकच्छत्र रूपमा चलेको भोटे नुनको व्यापार सन् १९५९ पछि बिस्तारै ओह्रालो लाग्दै विस्थापनकै अवस्थामा पुग्यो। भोटे नुन चक्रको यस्तो अवरोहलाई मानवशास्त्रीहरू हेमिन्ड्रोफले लेखेको हिमालयन ट्रेडर्सः लाइफ इन हाइल्यान्ड नेपाल, जेम्स फिसरले लेखेको ट्रान्सहिमालयन ट्रेडर्सः इकोनोमी, सोसाइटी एन्ड कल्चर इन नर्थ वेस्ट नेपाल, केन्नेथ बौएरले लेखेको हाई फ्रन्टियर्सः डोल्पो एन्ड द चेन्जिङ वर्ल्ड अफ हिमालयन पास्टोरालिस्ट, बेरी सी. बिसपले लेखेको कर्णाली अन्डर स्ट्रेसः लिभ्लीहुड स्ट्रेटेजिज एन्ड सिजनल रिदम्स इन अ चेन्जिङ नेपाल हिमालय र माइकल भिन्डिङले लेखेको द थकालीः अ हिमालयन एथ्नोग्राफी पुस्तकमा चर्चा गरिएको छ।

उनीहरूका अनुसार, चीनले तिब्बतलाई अधीन बनाएर सीमा सम्बन्धी नीतिमा कडाइ गर्नुका साथै नुन उत्पादनमा कोटा प्रणाली लगाई कर बढाएका कारण नुन महँगो हुन गयो। सीमामा पहिले जस्तो सहज आउजाउ रहेन। अर्कातिर नेपालमा पनि पूर्व-पश्चिम महेन्द्र राजमार्ग तथा विमानस्थलहरूको निर्माण भयो।

सन् १९६३ मा नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापनापछि भारतीय नुन हेलिकप्टर मार्फत मध्य पहाडी क्षेत्रहरूमा सहुलियत दरमा पुग्न थाल्यो। यससँगै भोटे नुनमा आयोडिन नभएकाले यसको सेवनले गलगाँड आउँछ भनी प्रचार गरियो। तराईमा औलो उन्मूलनपछि भारतीय नुन नेपालतिर फैलँदा भोटे नुन विस्थापित भएको तर्क पनि छ।

विस्थापनपछिको अवस्था

भोटे नुन चक्रको विस्थापनले हिमाली क्षेत्रको सामाजिक र आर्थिक संरचना नै बदलिदियो। त्यहाँका बासिन्दा जीवन पद्धति परिवर्तन गर्न बाध्य भए। कोही थातथलो छाडेर हिंडे। जस्तै, सन् १९५९ मा चीनले तिब्बतलाई आक्रमण गरेपछि वालुङचुङ क्षेत्रको व्यापारमा निकै मन्दी आयो। अर्कातिर नेपालको उत्तरी भेगमा पनि खम्पा विद्रोह चर्किंदा त्यहाँ निषेधित क्षेत्र तोकियो।

यस्तै कारणले व्यापारमा मन्दी आएपछि हिमाली बासिन्दा थातथलो छाडेर ताप्लेजुङ सदरमुकाम, धनकुटाको हिले, काठमाडौं र दार्जीलिङतिर पलायन भएको कुरा राजेश्वर थापाको सन् २००८ मा प्रकाशित पुस्तक वालुङ र वालुङामा उल्लेख छ। खुम्बुका शेर्पाहरू पर्यटनतिर मोडिए। मुस्ताङका थकालीहरू विदेश र शहरबजारतिर लागे। केही हिमाली जनजातिले भने जसोतसो नुनकै व्यापार धानिरहे।

भोटे नुनको विस्थापनसँगै हिमालपारि तथा तल्लो भेगसँग जोडिएको हिमाली बासिन्दाको सम्बन्ध ओझेल पर्दै गयो। यसको असर उनीहरूको ज्ञान, सीप र कलामा पनि पर्‍यो। पहिले नुन बोक्न याक, जोपा, घोडा, भेडाबाख्रा पालिन्थे। तिनैले नेपालबाट तिब्बतसम्म अनाज पुर्‍याउँथे। तर, चीनले सीमाक्षेत्रमा कडाइ गरेपछि चरनको असुविधाले पशुपालन घट्दै गयो। भेडापालन नहुँदा ऊन उत्पादन भएन। यसले गर्दा बख्खु, दोचा, कम्बल जस्ता लत्ताकपडा पनि बनाइन छाडे। हिमाली आदिवासीका ज्ञान, सीप, कलाबाट बनेका लुगाफाटाको ठाउँ नयाँ चिनियाँ लत्ताकपडाले ओगटे।

राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक तथा नीतिगत परिवर्तनले भोटे नुन चक्रलाई ओझेल पार्दा हिमाली जीवन पद्धतिमा परेको प्रतिकूल असर चिर्न राज्यले जीविकोपार्जनका वैकल्पिक कार्यक्रम ल्याउनुपर्थ्यो, तर ल्याएन। वस्तु विनिमय प्रणालीमा निहित अर्थतन्त्रलाई पूर्वाधारहरू तयार नपारीकनै एक्कासि बजार नियन्त्रित अर्थतन्त्रतिर मोडियो। जसले गर्दा हिमाली उत्पादनले बजार पाएनन्। यातायात, सडक, ऊर्जा र शिक्षा आदिको अभावमा हिमाली क्षेत्र तिब्बत सँगसँगै हिंड्न सकेन।

उता चीनले तिब्बतमा तीव्र विकास गर्दै गयो। त्यहाँ चीनको मूलभूमितिरबाटै अनाज तथा दैनिक आवश्यकताका वस्तु भित्रिन थाले। तिब्बती भेडाच्याङ्ग्रा, ऊन, याक-चौंरीको दूधबाट बनेका चिजबिज उतै जान थाले। नुन व्यापारमा आश्रित जीवन पद्धति सङ्कटमा पर्‍यो।

विशेष गरी पञ्चायतदेखि बहुदलसम्म लगभग तीन दशक चीनले सीमामा कडाइ गर्‍यो। यसले नुनको व्यापारमा मन्दी आउँदा विशेष गरी कर्णालीतिरको हिमाली जनजीवन झन् कठिन र कष्टकर बन्दै गयो। हिजो तिब्बतमा अनाज निर्यात गर्ने हिमाली क्षेत्र आज तिब्बतबाटै चामल चामल, मैदा, घिउ सहितका दैनिक उपभोग्य वस्तु र लत्ताकपडा आयात गरिरहेको छ। यसले स्वावलम्बी संस्कृति र आत्मनिर्भरता घटाएको मात्र होइन, परनिर्भरता र उपभोक्तावादलाई प्रश्रय पनि दिइरहेको छ।

(बुढा मानवशास्त्रका विद्यार्थी हुन्। हिमालको २०७८ चैत अङ्कबाट।)

थप सामग्री :  https://www.himalkhabar.com/news/128848




Comments

Popular posts from this blog

The story from Kimathangka Border in Nepal

  “Ten years ago, the people of China were living a very hard life. In winter, they used to come to our village (Hungong) to seek jobs. They used to work for us on wages. But these days things have changed. Now people from here (Nepal) go to China for work.” At 7:15 am on October 18, 2021, we started our journey from Chhumser village of Bhotkhola  Rural municipality of Sankhuwasabha district towards Kimathanka. After leaving Chhumser village, we traversed through jungles, hills, and  ravines, passing by cascading waterfalls, lush vegetation, and a swift water stream, reaching a place called Dungokpa. It was an arduous journey traversing, descending, ascending, and descending again over a period of seven hours. There were two cowsheds in Dungokpa, along with the powerhouse of Kimathangka Micro-hydropower Project. The road from Kimathangka passed through here, and after following the road for an hour and a half, we reached the check post of Barun Conservation Area. From the...

बस्तु विनिमय प्रथा: याङ्माली भोटे र तम्मोरखोले लिम्बुको आलु र कोदो साटासाट

" माघको महिना , वरिपरिको डाँडाहरुमा सेताम्मे हिंउ परेको , वरपर घनाजंगल   र बिचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी । वरिपरी निलो पहेलो रंगका पालहरु टाँगिएको थियो । तल तिर   याङ्मा खोला कन्चन   बगिरहेको आवाज सुनिन्थ्यो। पालको बाहिर र चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटे हरु   तमोरखोला बाट माथि आउने लिम्बुहरुको बाटो हेरीरहे का थि ए ।   ढ ा क्रा बोकेर एकहुल लिम्बुहरु जब आइपुगे   भोटेका केटाकेटीहरु " रोङ्बा   लेप्सो , रोङ्बा   लेप्सो "   (लिम्बुहरु आयो लिम्बुहरु आयो ) भनि चिच्या ए ।   बयस्क भोटे हरु हतारहतार गरी लिम्बुहरु आइरहेको बाटो तिर कु दे ।   लिम्बुहरुलाई तानेर   आ’ आफ्नो पाल मा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो । मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जिविकोपार्जनको लागी अभिन्न अङ्गको रुपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनीमय भनेको दुइ वा दुइ भन्दा धेरै   मानव समुह   बिच विना मुद्राको प...

किमाथाङ्का डायरी–२ : राहत पठाउँछ तर, चेली रोक्छ चीन

  विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन । नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर गर्‍यो । कैयौंले रोजगार घुमाएको र कैयौं मानसिक रुपमा विक्षिप्त भई आत्महत्या गरेका खबरहरू सुन्यौं, हेर्‍यौं र पढ्यौं । नेपालको सन्दर्भमा विशेषगरी नेपाल र भारत नाका छेउछाउ र नेपालबाट भारत काम गर्न जाने जमातको दुःख–पीडा, भोगाइ बारेमा धेरै सुन्यौं, हेर्‍यौं र पढ्यौं । तर चीनसँग सीमा जोडिएका सीमा क्षेत्रका बासिन्दाहरूको बारेमा विरलै पढ्न, हेर्न र सुन्न पायौं । हुन त यो यात्रा संस्मरणमा कोभिड–१९ ले उत्तरी सीमा क्षेत्रमा पारेको पूरै प्रभावहरूबारे चर्चा गर्न सम्भव छैन । तर पनि मेरो यात्राको दौरानमा मेरो आफ्नो यात्रा अनुभवसँगै मैले देखेका, सुनेका र भुईं मान्छेहरूले सुनाएका, राष्ट्रिय मिडियाहरूले छुटाएका विषयवस्तुको उठान मात्र गर्नेछु । राहत बाँड्ने ...