काइके भाषामा “कोहोलुङ” र पोइके तिछुरोङके भाषामा “खार्चे” भन्ने यो रितिथिति विशेषत जिवित मान्छेको आत्मलाई कहि कतै भूत, प्रेत तथा प्रेतात्माहरुले पक्ररेर वा दबाएर राखेको बेला कुनै प्रेतात्मा तथा वनदेवताहरु मनाउनको लागि र छोडिदिनको लागि आग्रह स्वरुप सातु बोलाउने क्रिया हो । यसमा भाले वा कुखुरा सगुन गर्ने चलन छ । यो अन्य बेला खुशिका उत्सवहरू विवाह, व्रतबन्ध, रुङमा जस्ता महत्वपूर्ण पर्वहरुको बेलामा पनि गर्ने चलन छ । यो तिजुरोङ क्षेत्रका तरालिमगरहरु सबैले गर्ने गर्दछन्। यो संस्कारमा विशेषत पुरुषहरुको लागि भाले र महिलाहरुको पोथि राम्रो मानिन्छ ।
शुरुमा भाले या पोथिलाई वेलुकि पख कुखुराको खोरबाट निकालिन्छ र त्यस भाले वा पोथिको खुट्टा र चुच्चोलाई पानिले पखालिन्छ । पानिले चोखाएपछि धाराबाट ल्याएको चोखो पानि, जुन पानिको शुरुको भाग कहि कतै प्रयोग गरेको हुनुहुन्न त्यसलाई स्थानिय भाषामा तुफुइ÷छ्युभुइ भनिन्छ । गाग्री वा ग्यालेनको शुरुको पानि एउटा जग वा अमखोरामा हालेर ल्याइन्छ र त्यसैबेला जस्को आत्मा बागेको हो त्यसलाई छेउमा बसालेर त्यो शुरुको पनि उसको टाउको बाट घुमाएर भालेको टाउकोमा हालिन्छ । यदि भालेले टाउको हल्लाएर पानि छयापेमा मानिगुनि गरेको भनि शुभ साइत मानिन्छ । टाउको नहल्लाए फेरि पानि हाल्ने काम जारी हुन्छ । टाउकोमा पानि हाल्चे चाहि केटा हुनुपर्छ र जसको बुवा र आमा दुवै जीवित भएको हुनुपर्छ जसलाई फाजोम माजोम बुवा जिवित आमा जिवित पनि बुझिन्छ ।
मानि गुनि गरि सकेपछि, अन्त्यमा भाले वा पोथिको घाँटि निचोरेर मानिन्छ । यस बेला भाले वा पोथिलाई खुकुरीले काट्नु हुदैन । भाले वा पाथि घाँटि निचोरे पछि त्यसको भुत्लाहरु उखालेर भालेलाई चिरफार गरिन्छ । चिरफार पनि जस्तो पायो त्यसरी नगरी पहिला खुट्टाको भाग र अनि माथिको पखेटाको भाग र अनि मात्र पेट अनि भित्र मुटु कलेजो गरिन्छ । यसरी चिरफार गर्दै गर्दा मुटु, कलेजो र आन्द्रा हेर्ने चलन छ । मुुटु राम्रो सेतो दर्साहरु कोरिएको छ भने मुुटु फुलेको भनि राम्रो मानिन्छ, दाँया कलेजोले वाँया कलेजो थिचेको लाई पनि शुभ लक्षण मानिन्छ । आन्द्रामा पनि सानो मासु वाहिर आएको हुन्छ । जसलाई काइके भाषामा “सिमी÷मि” मान्छेको संज्ञा दिइएको छ । यदि त्यो मान्छे उठेको छ भने राम्रो संकेत र यदि सुतेको छ भने अशुभ भनि संज्ञा दिइन्छ । यसरी कलेजो मुटु र आन्द्राको अध्ययन अनुसन्धान पश्चात त्यसलाई सानो टुक्रा नबनाइकन ठूला ठूला आकारमा नै पानिमा पकाइन्छ र केहि समय पछि मासु पाकिसेपछि त्यस मासुलाई एउटा थालमा भात सँगै कुुखुराकै आकार बनाउँछ । जसमा टाउको चाहि माथि उठाएर जिउँदै कुखुराको आकार जस्तै बनाएर त्यहि फाजुम माजुम भन्ने बुवा र आमा दुवै जीवित केटाले आत्म भागेको मान्छेलाई त्यहि थाल टक्रयाउनु पर्ने हुन्छ । थाल टक्राउने क्रममा गाउँको जान्ने सुन्ने व्यक्ति वा अभिभावकले विस्तारै केहि वाक्यहरु भन्दै भागेका आत्मालाई बोलाइन्छ । जस अनुसार त्यो व्यक्ति जसको आत्मा लगेको हो त्यसैको नाम लिई उसले भ्रमण गरेका सवै ठाउँहरुको नाम लिई जहाँ भए पनि यहि उपस्थिति हुन भनि आत्मालाई बोलाइन्छ । यसरी बोलाउँदै जाँदा विस्तारै मासु टक्राउने व्यक्ति केहि कदम अघि चाल्दै चाल्दै, आत्म बोलाउँदा सम्म यो काम जारी रहन्छ । जब आत्म बोलाउने काम सिद्धिन्छ तब थाल (भाले आकार बनाएको) चाहि त्यहि व्यक्तिलाई टक्राइन्छ । जस्ले थाल टक्राउछ उसलाई कुखुराको पछाडिको करङको भाग जसलाई स्थानिय भाषामा ताङकोरुवा भनिन्छ । यसरी भागेकोे आत्मालाई फेरि बोलाएर पुर्नमिलन गराउनको लागि कोहोलुङ खार्चे गरिन्छ ।
Comments
Post a Comment